काठमाडौं । नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग रकम माग गरेको छ ।
पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो । अपुग ४ अर्ब रुपैयाँ माग गरेर मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ ।
आईओसीलाई बुझाउनु पर्ने इन्धन खरिदको २५ अर्ब रुपैयाँका जोहो गर्न रकम अभाव भएपछि ४ अर्ब रुपैयाँ रकम जुटाइ दिन निगमले सरकारसँग माग गरेको हो ।
कुल १३ अर्ब रहेको यस्तो कोषबाट यसअघि नै एक अर्ब ८० करोड रुपैयाँ निगमले लगिसकेको छ । जनवरी महिनाको पहिलो किस्ता बुझाउन गत फेब्रअरीमा उक्त रकम लिएको थियो ।
पेट्रोलियम पदार्थको बढ्दो मूल्य र उपभोक्ता मूल्यको अन्तर चिरेर मूल्य वृद्धि रोक्न वाणिज्य सचिवको अध्यक्षता रहेको यो कोषमा अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सहसचिव सदस्य रहन्छन् ।
FACEBOOK COMMENTS