काठमाडौं । दाङमा बिहीबार दिउँसो पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेत सवार गाडी एम्बुलेन्ससँग ठोक्किएको छ। दुई वटा गाडी ठोक्किएर भएको दुर्घटनामा बस्नेतसहित नौ जना घाइते भएका छन्।
सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको पूर्व सामान्य प्रशासनमन्त्री बस्नेत सवार बा८च ६९२५ नम्बरको बोलेरो र तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किएका थिए ।
बिहीबार दिउँसो साढे दुई बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राना गाउँमा बोलेरो र एम्बुलेन्स ठोक्किएको इलाका प्रहरी कार्यालय तुसलीपुरले जनाएको छ ।
बस्नेतको टाउको र पछाडिको गर्दनमा गाडीको सीसाले काटेर चोट लागेको छ । सबै घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी बोलेरो चालक सल्यानको बाघचौर नगरपालिका वडा नम्बर ७ का २८ वर्षीय रमेश वली, बाघचौर–८ का ५७ वर्षीय नेता बस्नेत, कपुरकोट गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय महेश घर्ती, एम्बुलेन्स चालक रूकुम पश्चिमको बाफीकोट गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय कालिभान खत्री, सोही ठाउँका ७६ वर्षीय डिलु खत्री, मुसिकोट नगरपालिका–५ का २१ सुवास शर्मा, सोही ठाउँका ३२ वर्षीय शम्भुप्रसाद शर्मा, सोही ठाउँका ४२ वर्षीय श्यामप्रसाद शर्मा र सोही ठाउँकै २६ वर्षीया राधिका शर्मा घाइते भएका छन्।
FACEBOOK COMMENTS