काठमाडौं, साउन २१। हिन्दु नारीहरुको महान पर्व नजिकिदै गर्दा सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। विगतका वर्षमा तीज सुरु हुनु अगाडी नै सुन पसलहरुमा सुन किन्न महिलाहरुको भिड लाग्ने गर्दथ्यो। तर, यस वर्ष भने सुन किन्नेको भन्दा बेच्नेको संख्या बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन आज मंगलबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ। सोमबार प्रतितोला ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य मंगलबार २०० रुपैयाँले बढेर ६८ हजार रुपैयाँ कारोबार भएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५८ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५८ हजार ४५ रुपैयाँमा कायम गरेको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेर ७९५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६८१ रुपैयाँ ५० पैसा कायम गरेको छ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा लगानी बढ्दै गएको हुनाले अमेरिका चाइना लगायतक विभिन्न देशमा सुनको मूल्य बढेसँगैआन्तरिक बजारमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष मोहन कुमार सुनारले जानकारी दिए। उनका अनुसार तत्काल सुनको मूल्य घट्ने संकेत देखिएको छैन ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अमेरिका र चीनबीच व्यापार युद्धका कारण सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । यस्तै स्थिति जारी रहे सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुग्न सक्ने शाक्यको भनाइ छ ।
शाक्यले भने ‘हिन्दू महिलाको विशेष चाड तीज नजिकिँदै गर्दा सुनको कारोबार उच्च हुने अपेक्षा थियो । तर, मूल्य वृद्धिका कारण नयाँ गहना बनाउनमा अहिले कारोबार घटेको छ । विगतमा अन्य सिजनमा भन्दा तीजको बेला सुनको कारोबार ७५ प्रतिशत वृद्धि हुने गर्थो । अहिले भने बेच्नेको संख्यामा वृद्धि भएको छ ।’
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश १ हजार ४६४ दशमलव ५ डलरमा कारोबार भएको छ। भने, प्रति ग्राम ४७ दशमलव ०७ डलरमा कारोबार भएको छ।
FACEBOOK COMMENTS