काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको निर्वाचन आयोगले स्वागत गर्दै स्वच्छ, निष्पक्ष र भयरहित ढंगले काम गर्ने बताएको छ ।
बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त मितिमा निर्वाचन गराउन सक्षम हुने बताए ।
निर्वाचनको मिति घोषणादेखि निर्वाचन सम्पन्न हुँदासम्म १२० दिन समय चाहिने संवैधानिक व्यवस्था भए पनि उक्त मितिमा निर्वाचन गराउन आयोग सक्षम हुने उनको भनाइ छ ।
निर्वाचनको मिति घोषणाको दिन र मतदानको दिन बाहेक १०७ दिन रहने भए पनि उक्त समयमा निर्वाचन गराउन आयोग सक्षम हुने प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको सिफारिसअनुसार नै सरकारले निर्वाचनको मिति तोकेको हो । बिहीबार साँझ आयोगमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १ सय ७ दिनको अवधीमा अर्जुन दृष्टि लगाएर काम गर्ने बताए ।
उनले आयोगले अनौपचारिक ढंगले शान्तिपूर्ण रुपमा चुनाव गर्ने तयारी गरिरहेकोमा त्यसलाई औपचारिक रुपमा सम्पन्न गर्ने बताए । प्रमुख आयुक्त थपलियाले भने– ‘समय अवधिको दृष्टिकोणले हामीलाई कुनै समस्या पर्ने छैन् । नजिकै चाडपर्वहरू आएकोले हाम्रो खटन पटनमा केही समस्या आउन सक्छन् । त्यसलाई हामी सहज रुपमा समाधान गछौँ ।’
उनले आयोगले संविधानमा भएको र निर्वाचन कानुनमा भएको व्यवस्था अनुसार मंसिर २१ गते सांसदहरुको पदावदी सकिने परामर्श सरकारलाई बुझाएको बताए ।
FACEBOOK COMMENTS