काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एन.बि.आई) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक ईन्टरनेसनल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एन.बि.आईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथैे एन.बि.आइले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS