काठमाडौं । ‘प्रेमगीत’फेम अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता प्रदीपले बोर्डका अध्यक्ष केसीको राजीनामा माग गरेका हुन् ।
अभिनेता प्रदीपले असोज १ गतेदेखिबाट लागू हुने गरी राति ११ बजेपछि फिल्म हल बन्द हुने निर्णय गरेको भन्दै विकास बोर्डका अध्यक्ष केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको सो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको ‘प्रेमगीत–३’ प्रति लक्षित भएको प्रदीपको आरोप छ ।
उनले मदिरा सेवन गर्दै हेरिने डान्सबार रातभर खुल्ला हुने तर, कफी र पपकर्न खाँदै हेरिने फिल्म हल बन्द गर्ने निर्णय गलत भएको बताए । उनले भनेका छन्, ‘उहाँले (भुवन केसीले) राजीनामा दिँदा इज्जत बढ्छ ।’
यसका साथै प्रदीपले निर्माताको हकहितको पक्षमा निर्माता संघसमेत नबोलेको भन्दै यस्तै अवस्था रहे समानान्तर निर्माता संघ बनाउने चेतावनी पनि दिए । फिल्म सम्बन्धी नीति बनाउनेहरु बौद्धिक नहुँदा निर्माता र कलाकारहरुले दुःख पाइरहेको उनको भनाइ छ ।
प्रेमगीत–३ का निर्माता–निर्देशक सन्तोष सेनले पनि विकास बोर्डको यो निर्णय असोज ७ गतेबाट विश्वभर रिलिज हुन लागेको आफ्नो ‘प्रेमगीत–३’ प्रति लक्षित भएको बताए । उनले भनेका छन्, ‘प्रेमगीत–३’ मेरो अथवा प्रदीपको फिल्म हैन नेपालको फिल्म हो । हामीलाई भष्म बनाउने राजनीति नगरौं ।’
विकास बोर्डले रिलिजको एक साता अगाडि नै फिल्म जाँचपासको लागि निवेदन दिनुपर्ने र विहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने नियम बनाएको छ ।
प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य भूमिका रहेको ‘प्रेमगीत–३’ असोज ७ गतेबाट नेपाल र छिमेकी राष्ट्र भारतका साथै विश्वभरका हलहरुमा एकसाथ रिलिजमा आउँदैछ ।
FACEBOOK COMMENTS