काठमाडौँ । भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आइतबारदेखि विधिवत् रूपमा बडादसैँ सुरु भएको छ । आज बिहान १० बजेर १५ मिनेटको शुभसाइतमा तलेजुलाई मूलघरबाट दसैँघरमा भित्र्याइएको छ ।
राजप्रतिनिधिका रूपमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग बोकेर अन्यले खड्गलगायतका विभिन्न धार्मिक हतियारसहित लामबद्ध भएर विभिन्न बहुरत्न गहना पहिरिएर तलेजुको मूल मूर्तिलाई बोकेर १९ जनाले तलेजुलाई विधिवत् रूपमा दसैँघर पुर्याएका हुन् । आजदेखि विजयादशमीको दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ ।
रातो र सेता कपडाको विशेष प्रकारको लुगा, पछ्यौरा र पगरी लगाएका तलेजुका पुजारी, नाइकेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैँघर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दसैँघरबाट मूलघरमा भित्र्याइने मूल नाइके जोशीले जानकारी दिए । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिइन्छ ।
तलेजुलाई दसैँ घर भित्र्याउँदा जिल्लाका सरकारी निकायका प्रमुखहरू र सर्वसाधारणको भीड लागेको थियो । तलेजुको मूल चोकमा सर्वसाधारण उभिएर तलेजुको दर्शन गर्दै दसैँघरमा भित्र्याएको हेरिरहेका थिए भने सरकारी निकायका प्रमुख एवं उनका परिवारलाई भने अतिविशिष्ट कक्षमा प्रवेश गराएर अवलोकन गराइएको थियो । दसैँघर भित्र्याएपछि मूल नाइके जोशीले तलेजुको फूल माला तथा प्रसाद प्रदान गरेका थिए ।
FACEBOOK COMMENTS