काठमाडौँ । कालिकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ । यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढी पहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिल गुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
तिल गुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढी पहिरोको जोखिममै रहेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७, तिल गुफा नगरपालिकाका–७, खाडाँचक्र नगरपालिकाका–७, शुभकालिका गाउँपालिका–४, महाबै गाउँपालिका–५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।
असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी क्षति कालिकोटमा नै भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । पहिरोले स्थानीयका घर, खेत, खानेपानी, सिँचाइ कुलो, बाटोसहितको क्षति छ ।
कालिकोटमा बाढी पहिरोका कारण नौ वटै स्थानीय तहमा गरी पाँच सय ९० घर पूर्णरुपले भत्किएको, सात सय ४२ घर आंशिकरुपले भत्किएको र सात सय १३ घर उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ । बाढी, पहिरामा परेर कालिकोटको छ जनाको मृत्यु भएको एक प्रहरी जवानसहित १७ जना अझैँ बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । बाढी पहिराका कारण तिल गुफा नगरपालिकामा १९ जना पहिरोमा परेको त्यसमध्ये पाँच जना शव भेटिएको भए पनि अन्य अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
FACEBOOK COMMENTS