काठमाडौं । देशभर चुनावी सरगर्मी ह्वात्तै बढेका बेला काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका पुरानालाई नयाँले मुश्किल पार्ने देखिएको छ । सबै क्षेत्रका उम्मेदवार चुनावी कार्यक्रम र घरदैलो अभियानमा छन् । चुनावी मैदानमा उत्रेका उम्मेदवारले जित्ने दाबीसमेत गरिरहेका छन् ।
चुनावको मिति नजिकिँदै गर्दा पुरानालाई नयाँ उम्मेदवार भारी पर्ने सम्भावना बढ्दो छ । काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुख ओनसरी घर्तीमगर र नेकपा एमालेबाट मणिराम फुँयाल प्रतिस्पर्धामा छन् । उनीहरूलाई स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले चुनौती दिएका छन् । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस क्षेत्रबाट चुनाव लड्दै आएका थिए । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम मैदानमा छिन् ।
पुराना दलले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले परिवर्तनका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देशमै बस्ने वातावरण बनाउने प्रतिबद्धतासहित दिएको उम्मेदवारी पुरानाका लागि टाउको दुखाइ बनेको छ ।
काठमाडौं क्षेत्र नम्बर ३ मा पनि कडा प्रतिस्पर्धाको स्थिति छ । २३ जना उम्मेदवार रहेको यो क्षेत्रमा सत्ता गठबन्धन र एमालेले आफ्नो साख तथा विरासतसँग जोडेर प्रचार अभियान अघि बढाएका छन् । उनीहरूलाई अरू दलसँगै स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् । मतदाता भने स्थानीय विकास र नागरिकको जीवनस्तर उकास्ने योजना ल्याउनेलाई मतदान गर्ने मनस्थितिमा छन् ।
काठमाडौं–३ मा ५८ हजार ८८९ मतदाता छन् । यस क्षेत्रमा यसअघि वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्ण राई निर्वाचित भएका थिए । यसपटक पनि एमालेले राईलाई नै उम्मेदवार बनाएको छ । सत्तारूढ गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे चुनावी प्रतिस्पर्धामा छन् । उनीहरूले विकास र समृद्धिलाई प्रमुख चुनावी एजेन्डा बनाएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS