काठमाडौँ । चितवन क्षेत्र नं. २ मा गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका उमेश श्रेष्ठ सेफ जोनमा प्रवेश गरेको चर्चा चुलिन थालेको छ । राप्रपा नेपालबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका सुनिल कुमार थापा माओवादी केन्द्रमा प्रवेश गरेपछि उनलाई गठबन्धनको मत बढेकाले सेफ जोनमा गएको बताइएको हो ।
सत्ता गठबन्धनको मत बढे पनि नेकपा एमालेका कृष्णभक्त पोखरेल श्रेष्ठका प्रतिद्वन्द्वी हुन् । उनी यस अघि २०७० र २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट जितेका थिए । यस्तै चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेले पनि श्रेष्ठलाई उत्तिकै चुनौती दिइरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा सत्ता गठबन्धनबाट वडाध्यक्षका उम्मेदवारहरूले ३५ हजार ३९४ मत ल्याएका थिए। एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ५ सय ४३ मत ल्याएका थिए। गठबन्धन एक ठाउँमा हुँदा पनि एमालेका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत १४९ बढी छ ।
तर, राप्रपा नेपालको सहमहामन्त्रीसमेत रही चितवन २ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेका सुनिल कुमार थापाले राप्रपा नेपाल परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रले आयोजना गरेको एक समारोहका बिच उनले माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनीसँगै जिल्लाको अधिकांश पदाधिकारी सहित करिब ५० जनाले माओवादी केन्द्र प्रवेश गरेका हुन् माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहाल , भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल , बागमती प्रदेश सदस्य सीमा घटना विश्वकर्मा लगायतले थापा सहितको टोलिलाई माओवादी केन्द्र प्रवेश गराएका हुन्
FACEBOOK COMMENTS