काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एउटा मतदानस्थल नै महिलामैत्री बनाइएकोे छ ।
पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पर्ने रामग्राम नगरपालिका–१ को सयपत्री बोर्डिङ स्कुलको मतदानस्थल महिलामैत्री बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीका अनुसार सयपत्री स्कुलको मतदानस्थलमा दुईवटा मतदान केन्द्र छन् । “हामीले सयपत्री स्कुलको मतदानस्थल महिलामैत्री निर्माण गरेका हौँ”, उनले भने, “दुईवटा केन्द्र रहेको यसस्थलमा मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मी सबै महिलालाई मात्रै खटाएका छौँ ।” उक्त बोर्डिङ स्कुलको क मतदान केन्द्रमा सात सय ५६ मतदाता रहेको र यहाँ मतदान अधिकृतको रुपमा कुमारी केसीलाई खटाइएको निर्वाचन अधिकारी खत्रीले बताएका छन्र ।
सोही मतदानस्थलको ‘ख’ मतदान केन्द्रमा सात सय ८७ मतदाता छन् । यस मतदान केन्द्रमा पनि मतदान अधिकृतको रुपमा मनिषा पौडेललाई जिम्मेवारी तोकिएको छ । दुवै मतदान केन्द्रमा आठ/ आठ गरी १६ महिला कर्मचारी खटाइएको उहाँको भनाइ थियो।
उक्त बोर्डिङ स्कुलको मतदानस्थलको सुरक्षाको जिम्मा पनि महिला प्रहरीलाई नै प्रदान गरिएको छ । नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार त्यस मतदानस्थलमा प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा सबै सुरक्षाकर्मी महिला नै परिचालन गरिएको हो ।
“उक्त स्कुलको मतदानस्थललाई महिलामैत्री बनाउने विषयमा छलफल भएपछि हामीले पनि सुरक्षाको जिम्मा महिलालाई नै दिने गरी काम ग¥र्यौँ”, उनले भने, “त्यहाँ प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा नेपाल प्रहरी र म्यादी प्रहरीका सबै सुरक्षाकर्मी महिला नै परिचालन गरेका छौँ ।” उक्त मतदानस्थलको सुरक्षाका लागि १३ सुरक्षाकर्मी परिचालन गरिएकामा सबै महिला रहेका प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए । नवलपरासी क्षेत्र नम्बर २ मा एक लाख २६ हजार छ सय ८० मतदाता छन् ।
FACEBOOK COMMENTS