काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरू पनि उत्तिकै हुनुपर्ने महसुस गरेको बताएका छन् । आजदेखि काठमाडौँस्थित मण्डला थियटरमा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ ‘निटफेस्ट २०२२०’ को दोस्रो संस्करणको उद्घाटन समारोहमा शुभकामना दिँदै मेयर साहले महानगरले खेलकुद र कला हेर्ने छुट्टाछुट्टै विभाग बनाएर काम गर्ने सोच रहेको जानकारी दिए ।
“फिल्म र रङ्गमञ्चसँग जोडिएका फेस्टिभलहरू बजेटमा छैनन् । आउँदो वर्षदेखि रातो किताबमा नै ल्याएर सघाउने तयारीमा छौँ । त्यो हुँदा अझै खुलेर यस्ता महोत्सव गर्न सकिन्छ र त्यसको प्रभाव पनि त्यही अनुरूप हुनेछ भन्ने लाग्छ”, मेयर शाहले भने, “छुट्टाछुट्टै विभाग नहुँदा हामीले सहयोग गर्न सकिरहेका छैनौँ । कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने हुँदा हामी यसप्रति सजग छौँ ।”
‘सामाजिक रूपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन् । नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा चल्ने महोत्सवमा सहभागिता जनाउन भारतबाट अभिनेत्री शबाना आजमी नेपाल आएकी भएको छ ।
जम्मा १२ देशका १८ नाटकको मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरबाट दुई सयभन्दा बढी नाट्य कलाकार सहभागी छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन् ।
FACEBOOK COMMENTS