काठमाडाैं । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नाडाले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको टेकु स्थित कार्यालयबाट चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
नाडाले विभिन्न १० बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
यस्ता छन् नाडाले राखेका १० बुँदे माग र आन्दोलनका कार्यक्रम :
१. विगत ८ महिना देखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्नु पर्ने ।
२. नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने ।
३. सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने ।
४. नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालको व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने ।
५. अटोलोन / हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने ।
६. बैंकहरुको तरलता अभावलाई सहज बनाउन CD Ratio लाई पुनरावलोकन गर्नु पर्ने ।
७. बैंकहरुबाट सवारी साधनको Hire Purchase Loan स्वीकृत भए पश्चात जारी गरिने Delivery Order (DO) बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने ।
८. त्यस्तै बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio को हालको सिमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गर्नु पर्ने ।
९. पूर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनु पर्ने ।
१०. कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने ।
आन्दोलनका कार्यक्रमहरु
१. नाडाद्वारा तय गरिएका नाराहरु सबै व्यावसायीले फेसबुक, इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने ।
२. हामिले तय गरेको नाराहरू सबै व्यावसायीले चढ्ने गाडीमा आजै बाट अगाडी पछाडी टांसेर हिंड्ने ।
३. नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा टास्ने ।
४. विरोध कार्यक्रममा सहभागि हुन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने ।
५. २०७९/०८/२२ गते विहिवारका दिन सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहानको ११ बजे देखि २ बजेसम्म काठमाण्डौको माइतिघर मण्डेलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने ।
६. सोही दिन हाम्रा औपचारिक नाराहरू काठमाडौं लगायत हाम्रा सातै प्रदेशमा रहेका संगठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका सम्पूर्ण सदस्यज्यूहरुलाई एकै पटक परिचालन गर्ने।
७. मंसिर २२ गतेसम्म पनि मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने ।
FACEBOOK COMMENTS