काठमाडौं । पछिल्ला वर्षहरूमा वैदेशिक ऋण उल्लेखनीय बढेको देखिए पनि सरकारले वार्षिक लक्ष्यअनुसार ऋण प्राप्त गर्न भने नसकेको देखिएको छ । पछिल्लो ८ वर्षको तथ्यांक हेर्दा नेपाल सरकारले वार्षिक बजेटमा उल्लेख गरेको लक्षित वैदेशिक ऋण कुनै वर्ष पनि प्राप्त गर्न नसकेको देखिन्छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०७८/७९ सम्मको स्थिति हेर्दा आव २०७३र७४ मा लक्ष्यको अनुपातमा प्राप्ति सबैभन्दा कम छ । उक्त वर्ष लक्ष्यको २९ दशमलव ६४ प्रतिशतमात्रै वैदेशिक ऋण लिइएको देखिन्छ । यस्तै आव २०७२र७३ मा लक्ष्यको अनुपातमा सबैभन्दा बढी ऋण प्राप्त भएको छ । उक्त वर्ष लक्ष्यको ७४ दशमलव ६८ प्रतिशत वैदेशिक ऋण प्राप्त भएको देखिन्छ ।
चालू आव २०७९/८० मा सरकारले दाताबाट अनुदान र ऋण गरी झन्डै ३ खर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । बजेट वक्तव्यमा उल्लेख भएअनुसार सरकारले चालू आवमा २ खर्ब ९७ अर्ब ७१ करोड रुपैयाँ दाताबाट ऋण लिनेछ ।
यसमा ५५ अर्ब ४६ करोड रुपैयाँ अनुदान र २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ ऋण लिने सरकारको लक्ष्य छ । अनुदानमा देशकेन्द्रित सरकार ऋणमा भने बहुपक्षीय दाता (अन्तरराष्ट्रिय बैंक तथा संस्था) मा बढी भर परेको देखिन्छ । तर, यो वर्ष पनि लक्ष्यअनुसार ऋण प्राप्त हुन नसकेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वार्षिक प्रतिवेदनमा ऋण प्राप्ति लक्ष्यअनुसार नहुनुमा वैदेशिक ऋण कम उपयोग हुनु र लक्ष्य निर्धारण वस्तुनिष्ठ हुन नसक्नुलाई कमजोरीका रूपमा औंल्याइएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS