चितवन । सरकारविरुद्ध आन्दोलन जारी राख्ने अटोमोबाइल ब्यवसायीहरूकाे निर्णय भएको छ । नाडा अटामोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा सम्पन्न अटोमोबाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।
नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावना आदि विषयमा केन्द्रित रहेर पुस ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नाडाका पूर्व अध्यक्षहरु समेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भव्य रुपमा सम्पन्न भएको छ । सो भेलाले बैंकहरुको उच्च व्याजदरलगायत चालु पूँजी कर्जा लागू गरेको, जोखिम भार र एलसी मार्जिन लगायतका विषयहरुमा समेत छलफल गरेको थियो ।
उक्त कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरु रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले कार्यक्रममा व्यवसायीहरुलाई मार्गदर्शन गर्दै नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकताबारे चर्चा गरेका थिए ।
कार्यक्रममा नाडाका १ नं. प्रदेशअन्तर्गत रहेको मोरङ् अटोमोबाइल डिलर्श एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेस प्रदेशअन्तर्गत रहेको जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष तेज नारायण साह, बागमती प्रदेशअन्तर्गत रहेको चितवन अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद भण्डारी तथा हेटौडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष दामोदर प्रसाद अटल, गण्डकी प्रदेशअन्तर्ग्त रहेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्श एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशअन्तर्ग्त रहेको लुम्बिनी अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, कर्णाली प्रदेशअन्तर्गत रहेको कर्णाली अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष भद्र भण्डारी र सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेको सुदुरपश्चिम अटोमोबाइल डिलर्श एशोसिएशनका अध्यक्ष पुष्करराज ओझाले आन्दोलनका सम्बन्धमा आ-आफनो धारणा व्यक्त गरेका थिए ।
सो भेलाले दोश्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुवैलाई एकैसाथ अगाडि बढाउने निर्णयसमेत गरेको छ । साथै व्यवसायीहरुले राखेको माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढतासमेत व्यक्त गरेको छ ।
सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जीप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथि उल्लेखित समस्याहरुका कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइल्स व्यवसायीहरु धमाधम पलायन हुने अवस्था आएकाले व्यवसायीहरुले दोश्रो चरणको आन्दोलनमा जाने नाडाले निर्णय गरेको छ । नाडाले मिति मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी मंसिर २२ गते काठमाडौंलगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा। विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोबाइल क्षेत्रका सम्बन्धमा विषेश प्रस्तुति दिएका थिए । त्यसैगरी उक्त कार्यक्रममा नेपालका प्रख्यात मोटिभेसनल महेश दाहालले व्यवसाय सञ्चालनको क्रममा आउने चुनौती र समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा प्रस्तुति दिए ।
सोही क्रममा नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापति सुनिल रिजालले व्यवसायीहरुले गर्ने भनिएको दोश्रो चरणको आन्दोलनको ढाँचाबारे जानकारी दिएका थिए । सोही दिन बसेको नाडाको १३औं कार्य समितिको बैठकले नाडाको आगामी ४६औं वार्षिक साधारण सभा माघ २७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।
FACEBOOK COMMENTS