काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र ‘संसदीय दल नेता चयन र सरकारमा सहभागी हुने कि नहुने ? भन्ने विवाद चर्किंदै गएको छ ।
चर्किंदो विवादसँगै दल नेता चयनका लागि आज निर्वाचन हुँदै छ भने ‘सरकारमा सहभागी हुने समेत कार्यकारिणी समिति बैठक बस्दै छ । जसपाबाहेक संसद््मा प्रतिनिधित्व गर्ने सबै दलले दल नेता सर्वसम्मत चयन गरिसकेका छन् । सर्वसम्मत नभएपछि नेपाली कांग्रेसले निर्वाचनबाटै दल नेता चयन गरिसकेको छ । तर, जसपाले अझै चयन गर्न सकेको छैन ।
दलका नेताका लागि जसपा संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यद्वय रामसहाय यादव र राजकिशोर यादव प्रतिस्पर्धामा छन् । निर्वाचन समितिले दल नेता चयनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सो कार्यतालिकाअनुसार आज बुधबार उम्मेदवारी दर्तादेखि मतदानसम्म कार्यक्रम छन् । जसपा सांसद प्रदीप यादव ‘दल नेता चयन सर्वसम्मत गर्ने प्रयास जारी रहेको’ बताउँदै ‘यदि त्यसो हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार मतदानबाटै चयन हुने सुनाउँछन् ।
प्रतिनिधिसभा सदस्यमा सप्तरी २ बाट पार्टी अध्यक्ष उपेन्द्र यादव जनमत पार्टी अध्यक्ष डा। सिके राउतसँग पराजित भएका छन् । यादव पराजित भएपछि दलको नेता आफ्ना ‘एस म्यान र यादव समुदायबाटै’ बनाउन खोज्नुले सर्वसम्मत हुन नसकेको जसपाका एक नेताले बताए । उपेन्द्रले दल नेताका लागि रामसहाय यादवलाई अघि सारेका छन् । रामसहाय बारा २ बाट निर्वाचित सांसद हुन् ।
‘उपेन्द्रजी निर्वाचनमा पराजित भएपछि उनले आफ्ना एस म्यान र यादव समुदायकै नेतालाई दलको नेता बनाउन खोज्नुले सर्वसम्मत प्रयास असफल भएको छ,’ ती नेताले भने, ‘उनको यही शैली र व्यवहारले पार्टीले नराम्रो पराजय भोग्नुपरेको अवस्था छ । उनको यस्तो गतिविधिले पार्टी कमजोर बनाउने काम भइरहेको छ । यो कुरा कार्यकारिणी समिति बैठकमा समेत जोडतोडले उठनेवाला छ ।’
जसपा संघीय परिषद् अध्यक्ष राई सुनसरी १ बाट प्र्र्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पार्टीका वरिष्ठ नेता हुन् । सो हिसाबले पनि राई नै सर्वसम्मत दल नेता हुनुपर्ने भए पनि उपेन्द्रले आफ्ना विश्वास पात्र रामसहायलाई अगाडि बढाएका आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS