काठमाडौं । अटो पत्रकार संघले उपप्रधान, भौतिक पूर्वधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेको छ ।
संघका अध्यक्ष उज्जवल जंग शाहको नेतृत्वमा गएको समूहले मन्त्री श्रेष्ठलाई १४ बुँदे सुझाव दिएको छ ।
संघको तर्फबाट मन्त्री श्रेष्ठलाई सार्वजनिक यातायातको गुणस्तर सुधार, विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने, सडक बत्तीलाई व्यापक बनाउनु पर्ने, करिडोरमा ट्राफिक व्यवस्थापन, सडक सेफ्टी अडिट, सडक सुरक्षामा व्यापक जनचेतना जगाउने सुझाव रहेका छन् ।
यस्तै पठाओ लगायत राइड सेयरिङ कम्पनीलाई व्यवस्थित बनाउने, सवारी साधन अनुमतिपत्र सम्बन्धीत कार्यालयलाई अख्तियारी दिने, हरेक प्रदेशमा भेहिकल फिटनेश सेन्टर स्थापना गर्नुपर्ने सुझाव संघले दिएको छ । मन्त्री श्रेष्ठले संघले दिएका सुझाव सम्बिन्धित पक्षसंग छलफलगरी कार्यन्वयन गर्ने प्रतिवद्धता जनाए ।
‘समस्या सुन्ने, सुझाव लिने मात्रै होइन त्यसको अध्ययनगरी कार्यन्वयन गर्न मेरो ध्यान हुन्छ,’ मन्त्री श्रेष्ठले भने,‘मैले यातायात क्षेत्रको सुधारलाई नै पहिलो प्राथमिकतामा राखेको छु ।’
उनले सार्वजनिक यातायात अवस्थाको गुणस्तर एकदमै नाजुक रहेको बताउँदै त्यसमा गुणात्मक सुधारमा आफ्नो ध्यान रहने बताए । मन्त्रीले सुशासन, यातायात क्षेत्रको व्यवस्थापन र भौतिक पूर्वधार सुधारमा केन्द्रित हुने बताए ।
यस्ता छन् सुझाव
१. सार्वजनिक यातायातको गुणस्तर सुधार गर्न मापदण्डमा भएका ब्यवस्था कार्यान्वयन गर्नु पर्ने,
२. विद्युतीय साधनको प्रयोगलाई बढवा दिदै पुराना हरियो माइक्रोहरु तत्काल वन्द गर्दै सकेकोखण्डमा ईभीमा रुपान्तरण गर्दा केही सहुलियत दिँदा राम्रो,
३. ट्राफिल लाइटलाई ब्यापक बनाउने र भएका बत्ती एक महिना भित्र दुरुस्त बनाउने,
४. करिडोरमा ट्राफिक ब्यवस्थापन उचित ढंगले गर्न विज्ञ टोलीले दिएको सुझाव कार्यान्वयन गर्ने । आवश्यक परे नयाँ विज्ञ टोली गठन गर्ने,
५. बिपी हाइवेमा बढ्दो ठूला सवारीसाधनको प्रबेश तत्काल रोक्ने,
६. देशभर सडक विभाग मातहत रहेका सडकको सेफ्टी अडिट गर्ने,
७. सडक सुरक्षा र ट्राफिक सुरक्षाको विषयमा ब्यापक जनचेतना जगाउने,
८. पठाओ लगायतका राइड एण्ड सेयरिङ कम्पनीहरुमा आवद्ध सबै सवारीसाधनमा फरक नम्बर प्लेट प्रयोगमा ल्याउने,
९. ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयन गर्ने, सके पूर्ण विद्युतीय नभए कम्तीमा बीएस ६ मापदण्डको १००० सीसी माथिका गाडीको प्रयोग अनिर्वाय गर्ने,
१०. ड्राइभिङ लाइसेन्स परिक्षा र कार्ड छपाई सम्बन्धीत कार्यालयलाई अख्तीयारी दिने,
११. ट्राफिक नियम उल्घंनमा लाग्ने जरिवाना १०० प्रतिशतले वृद्धि गर्ने । साथै, लेन क्रसलाई धेरैभन्दा धेरै निरिक्षण गराउने,
१२. यातायात कार्यालयबाट दिइने सेवा पूर्ण डिजिटल गर्ने,
१३. हरेक दिन सवारीसाधनको प्रदुषण परिक्षण गर्ने टिम सडकमा खटाउने,
१४. सबै प्रदेशमा सुविधा सम्पन्न भेहिकल फिटनेश सेन्टर स्थापना गर्ने ।
FACEBOOK COMMENTS