काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पुस २७ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् ।
दुवै बैंक एक आपसमा मर्जर भएर २७ गतेबाट एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिइसकेको छ ।
मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । इन्भेष्टमेन्ट र मेगा बैंकले मंसिर १३ गते एक आपसमा गाभ्न गाभिनका लागि अन्तिम सम्झौता भएको थियो । दुवै बैंक १००ः९० अनुपातमा मर्ज भएका हुन् ।
मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ, मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ ।
पुस २७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको पुस २५ र २६ गते सबै सेवाहरु अवरुद्ध हुने जनाइएको छ ।
FACEBOOK COMMENTS