काठमाडौं । गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पुर्याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ ।
राजमार्ग स्तरवृद्धि नहुदाँ यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि दुई अर्ब रुपैयाँको योजना अघि सारेर विभागमा फाइल पेश गरिएको छ । सो बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्ने कार्यालय प्रमुुख श्रेष्ठको भनाइ छ ।
यसका लागि जिल्ला विपद् व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्ने छ । मुगुले निर्णय गरेर पठाइसकेको छ । जुम्ला र कालीकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । राजमार्गको लामो भागमा पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडाराजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा रहेको छ । सेरिगाडमा एक हप्ताअघि ठुलो सुक्खा पहिरो खसेपछि जाली तथा ग्याबिन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
अवरुद्ध राजमार्गलाई थप स्तरवृद्धि गर्नेका लागि अहिले काम तीव्र गतिमा भइरहेको छ । पहिरोले कालोपत्रे गरिएका सडक पनि कच्चीमा परिणत भएको ठाउँमा सुधार गर्ने लागि परेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा बढी जुम्ला र कालीकोट खण्ड र त्यसपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ । हवाईमार्गबाट जान नसक्ने सर्वसाधारणका लागि यातायातको एकमात्र विकल्प कर्णाली राजमार्ग भएको यहाँका स्थानीयवासी बताउँछन् । राजमार्ग स्तरवृद्धि हुन अतिआवश्यक रहेको छ । जुम्लाको तिला गाउँपालिका– १ का स्थानीयवासी जयलाल बुढाले भने, “हाम्रो लागि राजमार्ग सबैभन्दा सहज पहुँच हो । अहिले राजमार्ग राम्रोसँग बिग्रेको छ । सुधारका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । कर्णाली राजमार्ग दुई लाइन सडक खोल्नका लागि आवश्यक बजेट व्यवस्थापनका लागि यहाँका सांसददेखि राजनीतिक दलको महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीयवासी बुढाको भनाइ छ ।
राजमार्गको स्तरोन्नति हुन नसक्दा यात्रुले निकै गाह्रो हुने गरेको स्थानीयवासी उपराज रावतले बताए । सो बाढी पहिरोले कालीकोटको नाग्मदेखि मुगु गमगढी सडकलाई समेत क्षति गरेको छ । सुधारका लागि काम भइरहेको छ । जुम्ला, कालीकोट र मुगु जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर हेर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
FACEBOOK COMMENTS