काठमाडौं । एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौंस्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली_शाखा, रुपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।
क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिन्छ । यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ्ग समय भित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ । खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा ५०० र १००० दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९,५०० र दैनिक अधिकतम ९,९९,५०० सम्म नगद जम्मा गर्न सकिनेछ ।
रकम जम्मा गर्ने प्रकृयालाई अझ बढी सुरक्षित बनाउने बैंकको उद्देश्यअनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड कोड प्राप्त हुनेछ । बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ ।
उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिप मार्फत प्राप्त हुनेछ ।
बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभइ छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफै रकम गन्ने र नक्कली नोटहरू देखिएमा सो नोट छुट्याउने समेत गर्छ ।
बैंकले देशका विभिन्न स्थानमा यी मेसिनहरू सञ्चालनमा ल्याएपछि नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर लामो समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
साथै, यस बैंकले निकट भविष्यमा यस सेवा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्दै ग्राहक को अत्यावश्यक बैंकिङ्ग सेवालाई अझ सहज एवं सरल बनाउदै लैजाने अठोट लिएको छ ।
FACEBOOK COMMENTS