बुटवल । लुम्बिनी प्रदेब सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश राजधानी स्थापना भएको देउखुरी उपत्यकामा आयोजित शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री गिरीलाई नेपालको संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री गिरीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री चेतनारायण आचार्य र मन्त्री कृष्णा केसीसहितको मन्त्रिमण्डल गठन गरेका थिए । नवनियुक्त मन्त्रीद्वयलाई पनि सोही समारोहमा प्रदेश प्रमुख शेरचनले सपथ गराए ।
शपथ लिएलगत्तै मुख्यमन्त्री गिरीले राप्ती प्राविधिक शिक्षालयमा स्थापित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गरे । उनलाई मुख्यमन्त्री कार्यालयमा लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डा दीपक काफ्लेले पदबहाली गराएका थिए । त्यसअघि मुख्यमन्त्री कार्यालयमा उच्च पदस्थ कर्मचारीले उनलाई स्वागत गरेका थिए ।
पदबहाली पश्चात मुख्यमन्त्री गिरीले प्रदेशको राजधानी व्यवस्थापनका सन्दर्भमा अघिल्लो प्रदेशसभाले नयाँ राजधानी स्थापना गर्ने निर्णय गरेको र नयाँ सरकारले राजधानीको निर्माण प्रक्रियालाई राप्ती उपत्यकाको प्राकृतिक सुन्दरतालाई व्यवस्थित तरिकाले तीव्र गतिमा अघि बढाउने बताए ।
यस्तै उनले प्रदेशका जनताको आर्थिक समृद्धिका लागि समृद्ध प्रदेश, खुसी जनताको नारालाई मूर्तरूप दिने गरी राजनीतिक परिवर्तनबाट प्रदेशवासीहरूको जीवनमा पनि परिवर्तनको आभास दिनेगरी काम अघि बढाइने बताए ।
FACEBOOK COMMENTS