काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सङ्कुचित हुँदै गएको बताउँदै यसबाट राजस्व खुम्चिने र रोजगारी घट्ने तर्क प्रस्तुत गरेका छन् ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४६ औं वार्षिक साधारण सभामा गोल्छाले उक्त कुरा बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले आजै ल्याएको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा केही सकारात्मक विषयहरु रहेको बताउदै अध्यक्ष गोल्छाले अहिलेका अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएको छ भन्नु भयो । साथै उनले भावी अर्थतन्त्रलाई बलियो बनाउनको लागि राज्यले पनि केही जोखिम लिन तयार हुनु पर्ने धारणा राखेका थिए ।
सो सभाका विशेष अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र सँगसँगै मिलेर जान सकेको खण्डमा मात्र हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्ने बताउदै अहिले सरकारलाइ धेरै निकायमा विभिन्न शिर्षकमा कर तिर्नु पर्ने स्थितिले व्यवसायीलाइ सास्ती भएकोले एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्नु पर्ने माग गरेका थिए ।
त्यसैगरी सो सभाका विशेष अतिथि तथा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले व्यवसायीहरुको मनोबल उच्च बनाउने खालका कार्यक्रमहरु ल्याउनु पर्ने माग गर्दे अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको अटोमोवाइल क्षेत्र अघि बढन नसके देश अघि बढन नसक्ने बताएका छन् ।
सोही सभाका विशेष अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं बस्तुगत परिसदका सभापति अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र एवं अटोमोबाइल क्षेत्रको भूमिकालाई बुझेर पनि समाधानको प्रयाश गर्न सरकार तयार नहुने स्थितिप्रति गुनासो गरेका थिए ।
सो साधारण सभाको अवसरमा नाडाले राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिने ४ जना ट्राफिक प्रहरीहरुलाई कदरपत्रबाट सम्मानित गरेको थियो । नाडाका केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले सञ्चालन गरेको उक्त साधारण सभामा ३४ औं अङ्कको नाडा अटोमोवाइल ट्रेड डाइरेक्टरी २०२३ समेत सार्वजनिक गरिएको थियो । सो साधारण सभाको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए ।
FACEBOOK COMMENTS