काठमाडौं । नेपाल इकनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ ।
ललितपुरमा आइतवार सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् ।
जसमा बूढानिलकण्ठ स्कुलका भार्गभ चौटत र भिक्टर हमाल, लिटिल एन्जल्स कलेजका प्रयुश यादव, ट्रिनिटी कलेजका मयंक शंकर झा र सेन्ट जेभियर कलेजका अनुभव ढुंगाना छानिएको नियोले जानकारी दिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले अहिलेको समय आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को भएको भन्दै च्याट जीपीटीका कारण अध्ययन अनुसन्धानदेखि अध्यापनसम्मको ट्रेन्ड परिवर्तन हुनसक्ने बताए ।
काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार डा। अच्युत वाग्लेले मेडिकल साइन्सले नयाँ नयाँ औषधि पत्ता लगाएजस्तै अर्थशास्त्रीले अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय पत्ता लगाउनुपर्ने बताए ।
उनले सम्भावना भएका प्रतिभाशाली व्यक्तिहरू बाहिरै बस्ने हो भने यो देश कहिल्यै पनि विकसित नहुने भन्दै प्रतिभावान विद्यार्थीहरू पढ्नको लागि जहाँ गएपनि फर्केर नेपालमै आउन आग्रह गरे ।
नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञावलीले यस्ता कार्यक्रममा सफल व्यक्तिलाई भन्दापनि असफलताको कथा भएका व्यक्तिलाई ल्याउनुपर्ने धारण राखे ।
कसैको असफलताको कथा सुन्नै नचाहने हो भने उ कसरी दलदलमा फस्यो भनेर थाहा नहुने भन्दै कहाँ कति चुनौती छन् भन्ने कुरा जान्नका लागि पनि असफलताका कथा सुन्नुपर्ने उनको भनाइ थियो ।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले नेपालको अर्थतन्त्र, सेयर बजार र वित्तीय साक्षरताको बारेमा अन्तर्राष्ट्रिय मञ्चमा बोल्न आग्रह गरे ।
पलस टू तहमा व्यवस्थापन संकाय अध्ययनरत ८० जना विद्यार्थीको सहभागीता रहेको उक्त कार्यक्रमबाट अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि ५ जना विद्यार्थी छानिएका हुन् ।
क्षेत्रीय प्रतिस्पर्धामा देशभरका १६२ कलेजका १००० भन्दा धेरै विद्यार्थीहरू सहभागी भएकोमा उत्कृष्ट ७५ जना विद्यार्थी राष्ट्रिय ओलम्पियाडका लागि छानिएका थिए । सिधै छानिएका ५ जना सहित ८० जना विद्यार्थीहरूले राष्ट्रिय प्रतिस्पर्धा गरेका थिए ।
सहभागीहरूले बिजनेश केश एनलाइसिस, सिमुलेशन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको ३ घण्टाको लिखित परीक्षा दिएका थिए । त्याहाँबाट उत्कृष्ट भएका ५ जनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाएका हुन् ।
यस अघिका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अन्तिम ३ स्थानसम्म हाँसिल गर्दै आएकोमा यसपाली भने आयोजकले गोल्ड मेडल जित्ने लक्ष्य लिएको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पियाडमा तेस्रो र अन्तर्राष्ट्रिय बिजेनश ओलम्पियाडमा पहिलो भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
FACEBOOK COMMENTS