काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्नु अराजकता भएको बताएका छन् ।
नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो जनाएका हुन् । अराजक गतिविधि कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्न सक्ने जनाएका छन् ।
पछिल्लो समय केही व्यक्तिहरुले बैंक÷वित्तीय तथा लघुवित्त संस्थाहरु विरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणा तथा कर्मचारीहरु हतोत्साही हुने गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु र अराजक व्यवहार प्रति हाम्रोे गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरुले ४ करोड ८३ लाख भन्दा धेरै निक्षेप खाता मार्फत झण्डै ५४ खर्ब अर्ब निक्षेप संकलन र १८ लाख भन्दा धेरै ऋणीहरु मार्फत् ४८ खर्ब भन्दा धेरै कर्जा परिचालन गर्दै आइरहेको जनाएका छन् । बैंक तथा वित्तीय क्षेत्रले ५३ हजार भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले गत आ.व.मा राज्यलाई ३४ अर्ब भन्दा धेरै कर तिरेको र कोरोना संक्रमणमा व्याजदर छुट मार्फत ऋणीहरुलाई प्रत्यक्ष रुपमा १० अर्ब भन्दा धेरैको व्याजमा छुट दिएको जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
देशको दुरदराजमा लघुवित्त संस्थाहरुले झण्डै ६० लाख निक्षेप खाता तथा ३२ लाख भन्दा धेरै ऋणीहरुलाई सेवा प्रदान गर्नुका साथै २३ हजार भन्दा धेरै प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको उल्लेख छ ।
‘बैंक-वित्तीय तथा लघुवित्त संस्थाहरुको आफ्ना ग्राहकहरुसंग रही आएको सुमधुर सम्बन्धलाई एकाध नकारात्मक क्रियाकलापले बिथोल्न नसक्नेमा हामी स्पष्ट छौं’ जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बैंक-वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिए पछि नियमित रुपमा कर्जाको साँवा-किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन ।’
बैंक÷वित्तीय तथा लघुवित्त संस्थाहरु नियामक निकायद्वारा जारी गरिएको नीति÷निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र आफ्ना ग्राहकहरुको हक–हित तर्फ सदैव सचेत रहने हुनाले कानून विपरित कुनै पनि गतिविधिहरु नगर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS