काठमाडौं । माओवादीधारका पार्टीहरूको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सिपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’, कृष्णबहादुर महरा, खड्गबहादुर विक ‘प्रकाण्ड’, जनार्दन शर्मा, हिसिला यमी, देवेन्द्र पौडेल, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेताहरू सहभागी छन्।
प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन्। केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए।
यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ। उक्त रिटमा सम्भवत: शुक्रबार पहिलो सुनुवाइ हुनेछ।
पछिल्लो राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा नेताहरूबीच छलफल हुने बताइएको छ।
बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिए । उनका अनुसार अन्तर्क्रिया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग गर्ने निर्णय भएको छ ।
FACEBOOK COMMENTS