काठमाडौं । मुलुकको आमूल परिवर्तन गर्ने क्रान्तिका रुपमा स्थापित ‘जनयुद्ध’ र त्यसमा सङ्लग्न नेता तथा कार्यकर्तालाई आपराधिकरण गर्न खोजिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ ।
आज आयोजित संयुक्त मोर्चा घोषणा समारोहलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनयुद्धका नेतृत्वकर्ताको हैसियतले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मुद्दा लगाउनु खोज्नु जनयुद्ध कै अपमान भएको बताए ।
जनयुद्धलाई अपराधीकरण गर्ने र उपलब्धीलाई खारेज गर्ने लक्ष्यका साथ प्रधानमन्त्रीलाई मुद्दा लगाउने प्रयास गरिएको महासचिव चन्दको भनाइ छ । क्रान्तिको नेतृत्व गरेको नेतालाई व्यक्तिगतरुपमा मुद्दा लगाएर क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्ति मौलाएको भन्दै महासचिव चन्दले त्यस्ता मुद्दालाई अस्वीकार गर्ने बताए ।
उनले भने, “यो परिवर्तनमाथिको आक्रमण हो । प्राप्त भएका सीमित उपलब्धि माथिको आक्रमण हो”, महासचिव चन्दले अगाडि भने, “जुन क्रान्तिका कारण परिवर्तन भयो त्यसलाई अस्वीकार गर्ने, आक्रमण गर्ने र अपराधीकरण गर्ने प्रयास गरिएको छ । यो प्रचण्डको व्यक्तिगत मामिला हुँदै होइन ।”
जनताको अधिकारलाई खोस्ने र समाप्त पार्ने ध्येयका साथ जनविरोधी शक्ति प्रतिक्रान्तिमा उत्रिएकाले आफूहरुले प्रतिवाद गर्नुपरेको महासचिव चन्दको भनाइ छ । महासचिव चन्दले क्रमशः माओवादी विचार बोक्ने शक्ति क्रमशः एकै ठाउँमा आउने र त्यसका लागि सम्वाद भइरहेको बताए ।
कार्यक्रममा चन्द नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल र नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीले समाजवादी देशभक्त मोर्चाको घोषणा गरे । मोर्चाले त्यसको स्वरुप, कार्यक्रम तथा वैज्ञानिक समाजवादसम्बन्धी अवधारणासमेत सार्वजनिक गरेको छ ।
FACEBOOK COMMENTS