काठमाडाैं । तनहुँ क्षेत्र- १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसको पदाधिकारी बैठकमा तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको हाे । कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् ।
नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भैसकेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई यसअघि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका थिए ।
०४८ सालदेखि लगातार पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै आएका उनी लगातार तीन पटक कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन् ।
रामचन्द्र पौडेलले गत चुनावअघि आफू राष्ट्रपति भएमा भट्टराईलाई उम्मेदवार बनाउने आश्वासन दिएका थिए । भट्टराईलाई तनहुँ–१ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । तनहुँ १ बाट गत चुनाव जितेका पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
त्यसैगरी चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चका फैसलाले खारेज भएका उपचुनाव हुन लागेको हो ।
त्यस्तै उपराष्ट्रपति निर्वाचित राम सहायक प्रसाद यादवको निर्वाचन क्षेत्र बारा–२ मा पनि वैशाख १० गते नै उपचुनाव हुँदैछ ।
FACEBOOK COMMENTS