काठमाडौं । प्रहरी संगठनमा समस्याका चाङ रहेको र सबै मिलेर निदान गर्नुपर्ने नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले बताएका छन्। आईजीको दर्ज्यानी चिन्ह लगाएपछि प्रहरी हेडक्वाटरमा प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै कुँवरले उक्त कुरा बताएका हुन्।
‘अहिले संगठनका सामु समस्याका चाङहरू रहेका छन्, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टङकारो आवश्यकता छ’ आईजी कुँवरले भने।
नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवम् सामूहिक प्रतिबद्धता जरूरी रहेको उनले बताए। व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उनको भनाइ थियो।
त्यस्तै प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको पनि उनले बताए । नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानूनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा संचालित हुनुको अर्को विकल्प नभएको उनको भनाइ थियो।
मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरूप नेपालको संविधान, प्रचलित ऐन(कानूनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको उनले बताए।
क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आवद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने कुँवरले उल्लेख गरे।
‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ–आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशिलताको अपेक्षा गर्दछु। संगठनको हितप्रति केन्द्रित यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु’ कुँवरले भने। गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने उनले चेतावनीसमेत दिए।
‘अपराधीहरूलाई कानुनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरबाही र उदासिनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुने छैन’, आईजी कुँवरले भने।
FACEBOOK COMMENTS