काठमाडौँ । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन २ बजे बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ।
उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी पूर्णबहादुर खड्काले पाउने भएका छन्। कांग्रेसले खड्काकै नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउन लागेको हो।
त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत बन्ने भएका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ।
त्यस्तै, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
श्रेष्ठले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा वेदुराम भुसाल नियुक्त हुँदैछन्।
ऊर्जा मन्त्रालय माओवादीको भागमा परेको छ।
सरकारमा सहभागी हुने पार्टीहरूले आन्तरिक छलफल गरेर नाम दिए बिहीबार साँझ मन्त्रीहरूको शपथ गर्ने तयारी रहेको छ । ‘पार्टीहरूलाई संस्थागत निर्णय गरेर छिटो नाम दिन भनिएको छ । सबै पार्टीले नाम दिनुभयो भने आज बेलुका शपथ ग्रहण हुन्छ’, जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘सङ्ख्यामा सहमति भए पनि कुन कुन मन्त्रालय भन्ने टुङ्गिएको छैन ।’
यसअघि हिजोको बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
FACEBOOK COMMENTS