काठमाडाैं । एसीसी प्रिमियर कपमा नेपालले सुखद सुरुआत गरेको छ ।
नेपालमा मंगलबारबाट सुरु एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रनको लक्ष्य नेपाललाई दिएको थियो ।
उक्त लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपाललाई जित दिलाउनका लागि भीम सार्की र कुशल मल्लले उत्कृष्ट साझेदारी गर्दै अर्धशतकीय इनिङ्ग खेले ।
मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए । दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे ।
बलिङ्गमा नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३-३ लिए । यस्तै ललित राजबंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।
१० राष्ट्रले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा आयोजक नेपालसँगै मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । यस्तै समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङ्गकङ्ग र युएई रहेका छन् ।
बैशाख १८ गतेसम्म किर्तिपरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरि दुई स्थानमा हुने प्रतियोगितामा कुल २४ खेल हुनेछन् । प्रतियोगितामा दुवै समूहको शीर्ष दुई टोलीले सेमिफइनलमा स्थान बनाउने छन् । सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ।
फाइनलको विजेताले आगामी सेप्टेम्बरमा आयोजना एशिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ । एशिया कप आगामी जुलाईमा हुनेछ । यसैगरी शीर्ष तीनमा रहने टोलीले एशिया ईमर्जिङ्ग कपका लागि आफ्नो स्थान पक्का गर्नेछ ।
FACEBOOK COMMENTS