काठमाडौं । क्यानडा र सिंगापुर पठाइदिन्छु भन्दै १५ लाख भन्दा बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका १८ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीया विपना कुँवर र झापा अर्जुनधारा नगरपालिका १ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनाली रहेका छन् ।
क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारीको लागि क्यानडा पठाई वयटरमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णश्वर जुम्बुडाँडाबाट पक्राउ गरेको हो ।
यस्तै, सिङगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओमनाथ मैनालीलाई सोही दिन दिउँसो प्रहरीले पक्राउ गरेको हो । मैनालीले वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ ।
उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनीहलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS