काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एक वर्षमा पनि आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट नभएको बताएका छन् ।
विहिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले आफ्नै लाइसन्स समयमा नआएको बताएका हुन् ।
उनले भने, ‘यातायात कार्यालयका साथीहरुले मन्त्रीज्यूको लाइसेन्स प्रिन्ट गरिदिउँ कि भन्नु हुन्थ्यो । मैले भने होइन, सर्वसाधारणको झैँ क्यूमा राख्नुहोस् । कहिले पालो आउँछ त्यही दिन लिउँला भने ।’
त्यस्तै उनले इम्बोस नम्बर पिलेटको बारेमा बोल्दै भने, ‘प्रिन्ट भइसकेका नम्बर प्लेटलाई खेर जान दिनु पनि भएन, त्यसमा ठूलो रकम खर्च भइसक्यो, त्यसैले नम्बर प्लेट प्रिन्ट भइसकेको अङग्रेजीमा र अब प्रिन्ट गर्नेमा नेपाली पनि राख्ने छौं, भोलिका दिनमा इम्बोस्ड नम्बर नेपालीमा गर्न सक्ने बाटो खोलौं भन्ने निर्णय गरेका छौं,’ उनले भने ।
मन्त्री ज्वालाले इम्बोस्ड नम्बरको विषय अनेकौं विवादबाट अगाडि बढिरहेको बताउँदै त्यसलाई कसरी सहज बनाउने भन्ने तर्फ लागेको पनि बताए ।
मन्त्री ज्वालाले सोही क्रममा आगामी आर्थिक वर्ष २०८०/८१ को तयारी र छलफलमा रहेको पनि बताए । उनले पूर्वाधारको विकासमा सरकारले प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । उनले भने, ‘हामी आउँदा आउँदै बजेटको चपेटामा परेका छौं, एका तिर बजेटको चपेटा अर्को तिर आर्थिक सङ्कटको चपेटा छ, बजेट राम्रो बनाउनको निमित्त अर्थतन्त्र राम्रो हुनु पर्यो, आर्थिक अवस्था समस्याग्रस्त छ, ।’
FACEBOOK COMMENTS