अन्जनराज न्यौपाने
तनहुँ २४ पौष – तनहुँ उद्योग वाणिज्य संघको आयोजना र १२ बजार इकाईको सहआयोजनामा सातौँ तनहुँ महोत्सव विहीवार देखी दमौलीस्थित विपि वनबाटिकामामा सुरु भएको छ । “हाम्रो आधार, आर्थिक सामाजिक विकासको पुर्वाधार” भन्ने नाराका साथ आयोजित महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्दै सरकारले नीति क्षेत्रसँग लगानी गरी अघि बढ्नुपर्ने बताए । “निजीक्षेत्रमा प्रशस्त लगानी गर्ने हो भने मात्र देशमा समृद्धि सम्भव छ” पौडेलले भने ।
जिल्लाका उत्पादनको बजारीकरण, सांस्कृतिक, ऐतिहासिक एवम् धार्मिक स्थलको प्रबद्र्धन गरी जिल्लाको पर्यटन विकासमा सहयोग पु¥याउन तथा जैविक, धार्मिक विविधताको संरक्षण गर्दै समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि पर्यटन लगायतका क्षेत्रमा महोत्सवले योगदान पु¥याउने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।
महोत्सवबाट करिब ५ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य आयोजकले राखेको छ । महोत्सवबाट भएको नाफाले व्यास नगरपालिकासँग समन्वय गरी दमौलीको मादी नदिको पुलमुनी रहेको भतेरीको एैलानी जग्गाको व्यवस्थापन तथा स्तरोन्नतिका लागि लगानी गरिने लक्ष्य श्रेष्ठले बताए । जग्गा अभाव हुदाँ मेला महोत्सव गर्न समस्या भइरहेको अवस्थामा उक्त जग्गाको व्यवस्थापन गरी प्रयोगमा ल्याउन सके सबैलार्इ फाइदा पुग्ने उनको भनाई थियो ।
कृषि प्रर्दशनी, हस्तकला प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबद्र्धन, जलविहार, हेलिकप्टरबाट दृश्य अवलोकन, सांस्कृतिक नमुना ग्राम भ्रमण, रमाइलो मेला महोत्सवका मुख्य आकर्षण हुन् । महोत्सवमा १४० वटा स्टल रहेका छन् । जसमा विभिन्न खानाका २०, कृषि उत्पादनका १५, अटो कम्पनीका ८, सूचना केन्द्र १,प्राथमिक उपचार केन्द्र १, व्यापारिक सामग्रीका ४५ घरेलु तथा हस्तकलाका २०,कम्प्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनीका १५,सेवामूलक संस्थाका १०,दुग्ध व्यवसायका ५ वटा स्टल रहेका छन् । जलविहारको प्रचुर सम्भावना रहेको मादीसेती नदीमा महोत्सवका अवसरमा विशेष प्याकेजमा जलविहार सञ्चालन गरिने भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरी सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई महोसत्वबाट सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS