नगरकोट र धुलिखेलको विकल्प भक्तपुरको रानी कोट
साइराम उपरकाेटी
10:28 am, सोमबार, साउन १, २०८०
भक्तपुर । हप्ताभरिको कामको थकानले एक दिनको छुट्टीमा घुम्न जाने रहर कसलाई पो नहोला र । तर घुम्न जाने भनेर मात्रै भएन, त्यसका लागि कहाँ जाने कता जाने भन्ने पनि थाहा हुन् जरुरी छ ।
हप्तामा जम्मा एक दिन छुट्टी हुन्छ । त्यसमा पनि हप्ताभर थुप्रिएको घरको काम सकेर धेरै टाढा जान भ्याइँदैन । भोलिपल्ट बच्चाको स्कुल र आफ्नो अफिस भ्याउन पुग्नै पर्ने बाध्यताका बिच धेरै परिवारले घुम्न जाने इच्छा मारेर बसेका हुन्छन् ।
त्यस्ता व्यक्तिहरुका लागि उपयुक्त स्थान हो रानी कोट । अहिले उपत्यकाबाट घुम्न जाने मानिसको पहिलो रोजाइमा धुलिखेल, नगरकोट, ककनी, चित्लाङजस्ता ठाउँहरु पर्छन् । तर, यी सबै ठाउँ उपत्यकाबाहिरै पर्छन् । बिदाको दिन यसो केही घण्टा छुट्टाएर उपत्यकाभित्रै रहेको ठाउँ घुम्न जाऊ भन्दा कुन ठाउँ जाने भनेर छुट्टाउन गा¥यो पर्छ । तर नजिकको तीर्थ हेला भने झैँ केही समयमा घुम्न सकिने उपत्यकाभित्रै रहेको र काठमाडौँ भक्तपुरको मनोरम दृश्यावलोकन समेत गर्न पाइने ठाउँ हो, भक्तपुरको रानी कोट ।
रानी कोट
हरित पर्यावरण, त्यसमाथि काठमाडौँ उपत्यका र भक्तपुरलाई नजिकैबाट नियाल्न पाइने । खुला आकाशमुनि बसेर प्रकृतिमा रमाउन, वरपरका मनमोहक दृश्य अवलोकन गर्न यो गन्तव्य उपयुक्त छ ।
यो सूर्य विनायक नगरपालिका–७ मा अवस्थित छ । यो क्षेत्र अहिले पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । दैनिक आन्तरिक पर्यटक आउन थालेको स्थानीयले बताए । भक्तपुरको सूर्य विनायकबाट दक्षिणको पहाडमा रहेको यो ठाउँको मुख्य विशेषता भनेकै उच्च भूभागमा रहनु हो । उच्च पहाडी क्षेत्रमा परेकोले यहाँबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्य विनायक बस स्टपबाट दक्षिण पाइलोट बाबा, घ्याम्पेडाँंडा हुँदै रानी कोट पुग्न सकिन्छ । सूर्य विनायकबाट झन्डै सात किलोमिटरको छोटो दुरीमै रानी कोट पर्छ । पछिल्लो समय पाइलोट बाबा र घ्याम्पेडाँंडा पर्यटकको आकर्षक गन्तव्य स्थलको रुपमा परिचित हुँदा त्योभन्दा माथिको क्षेत्रमा रहेको रानी कोट पर्यटकको पछिल्लो आकर्षण बन्न थालेको देखिएको हो ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्य विनायक बस स्टपबाट दक्षिण पाइलोट बाबा, घ्याम्पे डाँडा हुँदै रानी कोट पुग्न सकिन्छ ।
यो ठाउँ पुग्न पनि सहज छ । यहाँसम्म मोटर बाटो पुगिसकेको छ । त्यसमा पनि पाइलट बाबा मात्रै नभई त्योभन्दा माथिको घ्याम्पेडाँंडासम्म नै कालोपत्रे भइसकेको छ । घ्याम्पेडाँंडाबाट माथि भने कच्ची मोटर बाटो छ । जंगलैजंगलको बिच बाटोबाट तलको मनोरम दृश्य हेर्दै रानी कोट पुग्दाको मज्जा नै भिन्न छ ।
यो ठाउँको अर्को आकर्षण बाघ भैरव हो । रानी कोट चोकबाट दुई सय मिटर पश्चिममा पहाडको बिचमै ठुलो ढुंगामा रहेको बाघ भैरव यहाँ घुम्न आउनेहरुको आकर्षणको केन्द्र बन्ने गरेको छ । प्राकृतिक ढुंगा बाघको आकारमा रहेकोले स्थानीयले त्यसलाई साक्षात् प्रकृति रुपी श्री बाघ भैरव मन्दिर नामकरण गरेका छन् र यो ठाउँलाई सुरक्षित पारेका छन् । चोकबाट केही मिटरमै रानी कोट गढी भ्या प्वाइन्ट पनि पुग्न सकिन्छ ।
पर्यटक घुम्न आउने क्रम बढेपछि यो ठाउँमा ठुल्ठूला तारे होटेलसमेत बन्न थालेका छन् । साथै स्तरीय रेस्टुरेन्ट तथा रिसोर्ट पनि आधा दर्जनको संख्यामा पुगेका छन् । एक दर्जन जति मात्रै बसोबास देखिएको यो ठाउँमा त्योभन्दा बढी होटल रेस्टुरेन्ट खुल्ने क्रम बढ्दो छ ।
यो ठाउँं भक्तपुर र काभ्रेको सिमानामा छ । गाउँमा तामाङ, नेवार र क्षेत्री–बाहुनको संयुक्त बसोबास छ । रानीकोटबाट माथि पुगेपछि फुलचोकी डाँडा पुगिन्छ ।
FACEBOOK COMMENTS