काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा एकै वर्ष ७ लाख ७१ हजार ३२७ जना नेपाली युवा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली वैदेशिक रोजगारीको खोजीमा बिदेसिएका हुन् ।
गत आर्थिक वर्षमा ७ लाख ७१ हजार बिदेसिँदा ६ लाख ९९ हजार १९३ जना पुरुष र ७२ हजार १३४ जना महिला बिदेसिएका छन् । सो अवधिमा ४ लाख ९४ हजार २२४ जना नयाँ श्रम स्वीकृति लिएर बिदेसिएका छन् भने २ लाख ७७ हजार १०३ जना पुनः श्रम स्वीकृति लिएका बिदेसिएका छन् ।
नेपालबाट आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट ६ लाख १२ हजार ६८५, आव २०७५/७६ मा ५ लाख ८ हजार ८२८, आव २०७६/७७ मा ३ लाख ६८ हजार ४३३, आव २०७७/७८ मा १ लाख ६६ हजार ६९८ र आव २०७८र७९ मा ६ लाख २८ हजार ५०३ नेपाली कामका लागि बिदेसिएका थिए ।
गत आर्थिक वर्षमा करिब ८ लाख मानिस बिदेसिँदा नेपालीहरुको मुख्य गन्तव्य मलेसिया बनेको छ । मलेसियामा मात्रै २ लाख ५९ हजार ५९४ जना रोजगारीको खोजीमा पुगेका छन् ।
त्यसमा २ लाख ५२ हजार २९५ जना पुरुष र ७ हजार २९९ जना महिला मलेसिया पुगेका छन् । सो अवधिमा २ लाख १९ हजार ३५७ जनाले नयाँ श्रम स्वीकृति र ४० हजार २३७ जनाले पुनः श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।
मलेसियापछि कतार १ लाख ३३ हजार २६२ जना, यूएई १ लाख १६ हजार १५९ जना र साउदी अरब १ लाख १२ हजार ७७७ जना पुगेका छन् । त्यसैगरी, कुवेत ४३ हजार ५०७, बहराइन ७ हजार ६९०, क्रोएसिया ७ हजार ४४१, साइप्रस ५ हजार ३१७, जापानमा ९ हजार ६४४, जोर्डन १ हजार १९, इजरायल १ हजार ८४, माल्दिभ्स ४ हजार ८६५, माल्टा ६ हजार ३०३, ओमन ५ हजार २९४ र ५ हजार ११२ जना पोल्यान्ड पुगेका छन् ।
गत वर्षमा बिदेसिएकामध्ये २ लाख २ हजार ६१६ जना अदक्ष युवा छन् । त्यसबाहेक ५ लाख ६ हजार ७४६ दक्ष कामदार बिदेसिएका छन् । त्यसैगरी, अर्धदक्ष ६० हजार ५५५ जना, प्रोफेसनल ११ सय ५३ जना र हाइ स्किल्ड २५७ जना नेपाली युवा बिदेसिएका छन् ।
FACEBOOK COMMENTS