काठमाडौं । कोशी प्रदेशका पाँच जिल्लामा शनिबार र आइतबार बिहान पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनका उपकरण परीक्षण तथा सञ्चालनसम्बन्धी काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।
प्राधिकरणको कञ्चन–१३२/३३ केभी सबस्टेसन आयोजनाका अनुसार कात्तिक १४ गते शनिबार र कात्तिक १५ गते आइतबार दुवै दिन बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण भाग तथा मोरङ जिल्लाको उर्लाबारी, पथरी र आसपासका क्षेत्र रहेका छन् ।
दुहबी–टंक १३२ केभी प्रसारण लाइनको कञ्चनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा डेड इन्ड टावरदेखि टेकअप ग्यान्ट्रीसम्म तार जोड्ने तथा लुप इन लुप आउट गर्ने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार अनारभ चक्रवातको प्रभावका कारण काम सुरु हुन नसकेमा आइतबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म र सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म पनि विद्युत् आपूर्ति बन्द हुन सक्नेछ । थप जानकारीका लागि प्राधिकरणको वेबसाइट वा ११५० हटलाइन नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ । काम सम्पन्न भएमा निर्धारित समयअघि नै विद्युत् सेवा सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ ।
