काठमाडौं, माघ ४ – मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
लाभ र सेवा–सुविधामात्र हैन, राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सीइओको छुट्टै आकर्षण छ ।
आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सीइओ मानिन्छ । बोर्ड सार्वजनिक–निजी साझेदारीको नमुना संस्था हो ।
सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना बोर्ड सन्चालक समिति सदस्य रहने व्यवस्था छ ।
सीइओको प्रतिस्पर्धाको दौडमा अहिले ९ उम्मेदवार सम्पूर्ण शक्ति र सामर्थ्यका साथ लागिपरेका छन् । प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ने हो, त्योचाहिँ आइतबार टुंगो लाग्नेछ ।
बोर्डको सीइओ बन्नका लागि अहिले प्रारम्भिक छनोटमा परेका ९ जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता भइसकेको छ । शुक्रबारदेखि शनिबारसम्म सबै प्रतिस्पर्धीको प्रस्तुतिकरण सकिएको छ ।
प्रतिस्पर्धी सबैको प्रस्तुतिकरण राम्रो रहेको तर तिनैमध्ये उत्कृष्टताका आधारमा तीनजनालाई सिफारिस गरिने छनोट समितिका सदस्य विप्लव पौडेलले राससलाई जानकारी दिए ।
छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतिकरण र अन्तर्वार्तापछि नम्बर दिइसकेको छ ।
प्रतियोगीको नम्बर ‘सिलिङ’ भइसकेको र आइतबार बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदारबहादुर अधिकारीसँग छनोट समितिको बैठक बसी बोर्डको सीइओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ ।
समितिको सिफारिसपछि बोर्ड सन्चालक समितिबाट आइतबार साँझसम्म तीनजनामध्ये एक अब्बल उम्मेदवारलाई बोर्डको सीइओ नियुक्त गरिनेछ । बोर्डको सीइओको कार्यकाल चार वर्षको हुनेछ ।
‘बलिया प्रतिस्पर्धीबीच उपयुक्त उम्मेदवार छान्न कत्तिको कठिन हुँदोरहेछ रु’ भनी सोधिएको राससको जिज्ञासामा छनोट समितिका सदस्य पौडेलले प्रतिस्पर्धी सबै सक्षम र सवल भएपनि प्रक्रियागत ढंगले सीइओ छनोट गर्नुपर्ने भएकाले कुनै कठिनाइ नभएको अनुभव सुनाए ।
बोर्डको सीइओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये उनीहरुको शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्टलिस्ट’ गरिएको थियो ।
सर्टलिस्टमा परेका ९ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतिकरण र अन्तर्वार्ता लिएको थियो ।
समितिका दुई विज्ञका रूपमा पूर्वपर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए ।
बजारमा हल्ला आएजस्तो सीइओ छनोटमा कुनैपनि किसिमको दबाब र प्रभाव नआएको सदस्य पौडेलले बताए ।
उनले भने–‘बोर्डको सीइओ छनोट प्रक्रियागत ढंगले अघि बढेको हो । यसमा कुनै दबाब आएको छैन । कुनै प्रभाव पनि परेको छैन । निष्पक्ष र स्वतन्त्ररूपमा उत्कृष्ट व्यक्ति छनोट गर्छौं ।’
बोर्डको सीइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सन्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा सम्मिलित उपसिमित बनाइएको थियो ।
प्रारम्भिक छनोटमा परेका ९ प्रतिस्पर्धीको प्रस्तुतिकरणपछि उनीहरुमध्येबाट उपसमितिले तीनजनाको नाम बोर्डलाई सिफारिस गर्ने बोर्डका पूर्वसचिवायल सदस्य केबी रानाले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सन्चालक समितिले सीइओ नियुक्त गर्ने व्यवस्था छ ।
समितिले बनाएको सीइओ छनोट कार्यविधि मातहत रही सीइओका लागि आवेदन माग गरेको थियो । गत मंसिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।
त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्छुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो ।
प्रतिस्पर्धी उम्मेदवारमध्ये निवर्तमान सीइओ जोशी र हाल भ्रमण वर्ष सचिवालयमा सदस्य सचिव रहेका बच्छुनारायण श्रेष्ठको नाम अग्रपंक्तिमा छ ।
जोशी कुशल अनुभव भएका व्यक्ति हुन् भने श्रेष्ठ पनि सबै हिसाबले अब्बल उम्मेदवार ठहरिन्छन् ।
राष्ट्रिय शक्ति सन्तुलनका हिसाबले बच्छुको बलियो सम्भावना छ । तर, बोर्डको अघिल्लो कार्यकालमा पनि सीइओ भइसकेका र विषयवस्तुलाई सरल तथा सहज ढंगले प्रस्तुत गर्ने कुसल खुबी भएका जोशी पनि रोजाइएका उम्मेदवार हुन् । यद्यपि, दुईमध्ये कसले बाजी मार्ने हो, त्यसका लागि कम्तीमा दुई दिन कुर्नैैपर्छ ।
बोर्डको सीइओका प्रतिस्पर्धी जोशीले व्यावसायिक तथा स्वतन्त्र व्यक्तिको रोजाइमा आफू रहेको र एकपटक बोर्ड नेतृत्वका लागि अहिलेको समय सान्दर्भिक आवश्यकता भएकाले पनि केही सम्भावना रहेको बताए ।
अर्का प्रतिस्पर्धी श्रेष्ठले सीइओ छनोट प्रक्रियामा आफू परीक्षार्थीका रुपमा सबै प्रक्रिया पूरा गरेको व्यक्ति भएकाले अहिले केही प्रतिक्रिया नदिने बताए ।
माघको पहिलो साताभित्रै सीइओको टुंगो लाग्ने बोर्डका निमित्त सीइओ नन्दिनी लाहे थापाले बताइन् ।
बोर्डको सीइओको आकर्षणसँगै चुनौती पनि उत्तिकै छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु मुख्य जिम्मेवारी हुनेछ भने पर्यटन क्षेत्रका चार दर्जन बढी संस्थालाई रिझाउनु र निजी क्षेत्रको साझेदारितालाई व्यावसायिक र प्रभावकारी बनाउनु पनि गहन जिम्मेवारी हुनेछ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका गतिविधिसँगै देशभित्र नयाँ गन्तव्य पहिचान तथा प्रवर्द्धन र अन्तर्राष्ट्रिय पर्यटन बजारको खोजी गर्नुपर्नेछ ।
FACEBOOK COMMENTS