काठमाडौं । साताको पहिलो कारोबार दिन सोमाबार शेयरबजार परिसूचक नेप्से ३४ अंकमाथिले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३४.६३ अंकले घट्दै २ हजार ७०४.०८ अंकमा झरेको हो ।
उसो त आज कारोबार रकममा समेत गिरावट आउँदै जम्मा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरका १ करोड ७ लाख ४ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । म्यानु एन्ड प्रो समूहको उपसूचक सबैभन्दा बढी २.५४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.२३ प्रतिशतले, डेभलपमेन्ट बैक समूहको २.१४ प्रतिशतले, होटल तथा पर्यटन १.३५ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.३६ प्रतिशतले घटेको छ ।
आज २४० कम्पनीको शेयर मूल्य घट्दा जम्मा २७ वटा कम्पनीको मात्र वृद्धि भएको छ । फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज १५ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य आज १२.५८ प्रतिशतले घट्न पुगेको छ ।