काठमाडौं । नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । भदौ ६ गते (बुधबार) सम्म मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ । बाढीबाट ११ जनाको ज्यान जाँदा चट्याङबाट २१ जनाको ज्यान गएको छ । भारी बर्षाका कारण दुई जनाको ज्यान गएको उनले बताए । खड्काका अनुसार मनसुनका कारण नौ अर्ब २९ करोड बराबरको क्षति भएको छ ।
चट्याङ्ले सबैभन्दा बढी घाइते भएका छन् । यसबाट ४३ जना घाइते भएको देखिएको छ । पहिरोबाट ४० जना घाइते हुँदा बाढीबाट पाँच जना घाइते भएका छन् । भारी बर्षाका कारण १२ जना घाइते भएका छन् । सबैभन्दा बढी बाढीबाट बेपत्ता भएका छन् ।
बाढीबाट २० जना बेपत्ता हुँदा पहिरोबाट नौ बेपत्ता छन् । नेपालमा मनसुन भित्रिएसँगै पूर्वमा ठुलो पानी परेकाले त्यहाँ धेरै क्षति भएको छ । उनले भने, ‘‘यसपालिको मनसुनको दुई महिनाको क्षतिलाई विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति पहिरोबाट भएको छ । बाढी र पहिरोले पूर्वी भागमा क्षति पनि बढी भएको छ ।’’ गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS