काठमाडौं । पत्रकार प्रमोदकुमार टण्डनद्वारा लिखित ‘इन्टरडक्सन टु मास मिडिया एण्ड कम्युनिकेसन’ किताब बजारमा आएको छ ।
१६ वर्षदेखि पत्रकारितामा सक्रिय टण्डनद्वारा लिखित पुस्तक प्रकाशन र बजार व्यवस्थापन पैरवी प्रकाशनले गरेको छ । यो लेखकको दोस्रो पुस्तक हो । उनका अनुसार ‘इन्टरडक्सन टु मास मिडिया एण्ड कम्युनिकेसन’ पुस्तक त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह पहिलो वर्षमा पत्रकारिता र आमसञ्चार विषय अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर गरेर तयार गरिएको छ ।
‘‘बजारमा स्नातक तहमा अध्ययनरत पत्रकारिता र आमसञ्चार विषयका विद्यार्थीलाई मिल्ने पाठ्यक्रमअनुसारका पुस्तक छैनन् त्यसैले त्यो अभाव टार्न त्रिविको पाठ्यक्रममा आधारित रहेर यो पुस्तक तयार गरिएको छ’’ उनले भने, ‘‘त्यसबाहेक आम सञ्चारमाध्यम र सञ्चार विषयमा चासो राख्ने जोसुकैका लागि यो पुस्तक लाभदायक हुनेछ ।’’
पुस्तकको संयोजन पत्रकारिता विषयका अध्यापक नारदमुनी गौतमले गर्नुभएको छ भने भाषा सम्पादन अंग्रेजी विषयका अध्यापक दिपेन श्रेष्ठले गरे । पैरवी प्रकाशनले आफ्नो सञ्जालमा रहेका पुस्तक पसलहरुमा उक्त पुस्तक उपलब्ध रहेको जनाएको छ । यसअघि लेखक टण्डनको पहिलो पुस्तक ‘फोटो पत्रकारिता पाइला’ वि.स. २०७४ सालमा प्रकाशित भएको थियो जुन फोटोग्राफी र फोटोपत्रकारितामा केन्द्रित थियो ।
१६ वर्षदेखि पत्रकारितामा सक्रिय टण्डनले एक दशकदेखि कक्षा ११ देखि स्नातकोत्तरसम्म पत्रकारिता र आमसञ्चार विषयको अध्यापन गर्दै आएका छन् । उनी अँग्रेजीबाट नेपाली र नेपालीबाट अँग्रेजी भाषा अनुवादक पनि हुन् ।
FACEBOOK COMMENTS