काठमाडौं, माघ १०- राष्ट्रियसभाको रिक्त १८ सिटका लागि बिहीबार भएको मतदानको सम्पूर्ण मतपरिणाम आएको छ ।
बिहीबार राति आएको नतिजाअनुसार नेकपा १६ सिट र राजपा २ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा काँग्रेसले भने एक सिट पनि जितेन र यसअघिको ७ सिट पनि गुमाएको छ । निर्वाचन बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजसम्म मतदान चलेको थियो ।
प्रदेश २ मा राजपासँग २र२ सिट भागबण्डा गर्दै चुनावमा होमिएको नेकपाले अन्य प्रदेशमा भने एकल उम्मेदवारी दिएको थियो । नेकपाले चुनावमा उठाएका १६ जना उम्मेदवार नै विजयी भएका हुन् ।
जितसँगै राष्ट्रिय सभा सदस्यको सख्या ५० पुगेको छ । १८ सदस्य निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एक्लैले १६ सिट जितेपछि सिट सख्या ५० पुगेको हो ।
यसअघि पहिलो पटक भएको निर्वाचनमा तत्कालीन एमालेबाट २७, माओवादी केन्द्रबाट १२, नेपाली कांग्रेसबाट १३, तत्कालीन संघीय समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनता पार्टीबाट २ जना निर्वाचित भएका थिए । यसैगरी सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना मनोनित गरेकी थिइन् ।
FACEBOOK COMMENTS