काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् ।
गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको खुलासा भएको हो ।
यससम्बन्धी छानबिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनका लागि १ महिनाको समय दिइएको छ ।
जानका अध्यक्ष डा. भुसालले भने ‘हामीले गत असारको पहिलो सातामा जानको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरू जापान पुगेको भेटेपछि सम्बन्धित मेनपावर कम्पनीलाई सोधेका थियौं । उक्त कम्पनीले ती व्यक्तिहरू जापान पुगेको पुष्टि गरेपछि हामीले यो कसरी सम्भव छ भनेर कागजात मगाउँदा कम्पनीले जापान पुगेका व्यक्तिको भाषा उत्तीर्णको नक्कली प्रमाणपत्रको फोटोकपी हामीलाई उपलब्ध गराएको थियो । जेठ २१ गतेको मिति उल्लेख भएको उक्त प्रमाणपत्र जानको लेटरप्याड र मेरो हस्ताक्षर किर्ते गरिएको बनाइएको थियो । त्यसपछि हामीले असारको ८ गते वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, सम्बन्धित मेनपावर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र त्रिभुवन विमानस्थलको अध्यागमनलाई यसबारे जानकारी गरायौं र यसमा छानबिन गर्न आग्रह ग¥यौं ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS