भक्तपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न बैंकहरूबाट लिएको अर्बौँ रुपैयाँ ऋण नतिर्ने छूट दुर्गा प्रसाईँलाई नभएको बताएका छन् ।
मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न कसैले पनि नपाउने बताएका हुन् ।
‘सबैभन्दा ठूलो रकम ऋण लिने र तिर्दिन भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, ऋण लिएर १० ठाउँमा जथाभावी लगानी गर्ने अनि ऋण तिर्दिन भन्नेलाई कुनै छुट छैन,’ मन्त्री महतले भने, ‘तर, ऋण लिएर काम गर्दा पनि नोक्सानमा परेर उठ्न नसकेका अप्ठ्यारोमा परेकाको हकमा भने राज्यले हेर्छ ।’
अहिलेकै व्यवस्थामा देश र जनताका लागि धेरै काम गरेको र अझै गर्न सकिन्छ भन्दै उनले जनताको अपेक्षाअनुसार केही काम हुन नसके पनि आगामी दिनमा यही व्यवस्थाले देशको आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालमा सूचनाप्रविधि, जलविद्युत् तथा पर्यटन क्षेत्रका विकासबाटै आर्थिक विकास गर्न सकिने उनको भनाइ छ । यही देशमा युवाका लागि धेरै अवसर भएकाले त्यसलाई सुक्ष्म रुपमा खोज्न आग्रह पनि गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिलीप प्रजापति, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, नेपाली कांग्रेस मध्यपुर नगरसभापति हरिदास प्रजापति, इमेज च्यानलका अध्यक्ष आर के. मानन्धर, राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले नेपालको आफ्नै मौलिक संवत्को रुपमा रहेको नेपाल संवत् सबै नेपालीको साझा संवत् हो भन्ने सन्देश घरघरमा पुर्याएर व्यवहारमै लागू गर्ने अभियान चाल्नुपर्ने बताएका छन् ।
यो पनि–
FACEBOOK COMMENTS