काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना गर्ने भएको छ ।
महासंघले आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो ।
जस अनुसार यो वर्षको अन्तर्राष्ट्रिय व्यापार मेला आगामी बिहीबारदेखि सुरू हुने भएको छ । यही मंसिर १८ गतेसम्म चल्ने मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने महासंघले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को कारण केही वर्ष रोकिएको मेला यो वर्षबाट निरन्तरता दिन लागेको बताए । मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मद्दत पुग्ने तथा अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताहरूको एकै ठाउँमा भेट हुने माध्यम बन्ने उनको भनाइ छ ।
उनले मेलाबाट नेपाली उत्पादन र विदेशी उत्पादनको सहज रुपमा अवलोकन गर्न सकिने बताए । उनले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको बताए ।
अन्तर्राष्ट्रिय व्यापार मेलाले जिल्ला तहमा वृद्धि हुँदै गएका व्यापार मेलाहरूलाई पनि मद्दत पुग्ने बताए । उनले मेलामा चीनबाट ५५,भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ वटा स्टलहरू रहने बताए । उनले मेलामा २१० वटा स्टलहरूमार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने बताए ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने एक माध्यम बन्दै आएको महासंघको भनाइ छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास महासंघले लिएको छ ।
मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारीक प्रतिनिधिमण्डल र नेपाली व्यापारीक प्रतिनिधिमण्डलबीच कृषि, जडिबुटी, औषधि, हस्तकलाका वस्तुहरूको विषयमा छलफल समेत हुने बताइएको छ ।
FACEBOOK COMMENTS