काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । विहीबार सञ्चार उद्यमी सम्भव शिरोहियासँग उनले लगनगाँठो कसेकी हुन् । श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् ।
विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् । श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।
श्रृंखला बेहुलीको रातो पोशाक र दुबोको मालामा सजिएकी छन् । सम्भव नेपाली ढाकाटोपी र नेपालीपनको झल्को दिने बेहुलाको पोशाकमा देखिएका छन् । दुवै वरवधु तस्वीरमा उन्मुक्त र प्रफुल्ल देखिन्छन् ।
केही दिन चलेको हल्दी, मेहेन्दी र संगीत सेरेमोनीपछि आज स्वयम्वर हुन लागेको हो । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
होटेल हायातमा वैवाहिक समारोह आयोजना गरिएको छ । विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको छ ।
FACEBOOK COMMENTS