काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ ।
म्याद थपिएसँगै अब कम्पनीको आईपीओमा ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन पाइनेछ । तर, आवश्यक संख्यामा आवेदन प्राप्त भइसकेपछि भने कुनै पनि दिन बन्द हुन सक्नेछ ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कम्पनीले यही मंसिर २७ गतेदेखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको थियो । तर, हिजो शनिबार साँझ ५ बजेसम्ममा ११ लाख ५६ हजार ४३४ जना आवेदकबाट २ करोड ८ लाख ९५ हजार ७६० कित्ताका लागि मात्रै आवेदन परेको र आज एक दिनमा सबै शेयर बिक्री नहुने देखेपछि कम्पनीले १० दिन म्याद थप गरेको हो ।
कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुअल फन्डलाई बाँडफाँड गरेर सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो ।
कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्येमा २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड कित्ता शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड पनि बाँडफाँट गरिसकेको छ ।
सोपश्चात दोस्रो चरणमा, बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS