काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेश कुमार सिंहले नेकपा माओवादी केन्द्रले तत्कालीन जनयुद्धका क्रममा लुट्न नपाएको कुराहरू अहिले सत्तामा बसेर लुटिरहेको बताएका छन् ।
केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको सचिवालयले देशको ढुकुटीमा गम्भीर क्षति पुर्याइरहेको आरोप लगाएका हुन् ।
राजतन्त्र ढलेपछि गणतन्त्र आयो, गणतन्त्र आएपछि राजाबाहेक उही पुरानैको हालीमुहाली सत्तामा रहेका कारण देशको अर्थतन्त्र समस्याग्रस्त बनेको आशय व्यक्त गर्दै उनले भने, ‘गणतन्त्र आएपछि त्यही मान्छेको हालीमुहाली भएको छ । जुन कुरा जनयुद्धमा लुट्न पाएका थिएनन् त्यो कुरा अहिले सत्तामा बसेर लुटिरहेका छन् ।’
यदि राज्यको ढुकुटी दोहन नगरेको भए अहिले उनीहरूको जीवनशैली कसरी सुखमय बनिरहेको छ भन्ने प्रश्न गर्दै उनले भने, ‘एकातिर सम्पत्ति विवरण देखाउँदा तीन कठ्ठा जग्गा छ भन्ने, अर्कोतिर १० लाखको ब्याग बोक्ने, ६० लाखको घडी लगाउने, दुवैमा फ्ल्याट राख्ने, यता दिनानुदिन प्लेन चढेर यात्रा गर्ने यस्तो खालको सुविधा उनीहरूलाई कहाँबाट आउँछ ?’
सो अन्तर्वाताका क्रममा सांसद सिंहले यो देशको अधोगतिको कारण प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू भएको पनि स्पष्ट पारेका छन् । उनीहरूले देश र जनताको हितमा काम नगरेकै कारण आज दक्ष युवा जनहक्तिले आफ्ना २–३ महिनाको काखे बच्चा छोडेर खाडीको चर्को घाममा पसिना बगाउन जान परिरहेको पनि उनको भनाइ छ ।
रोजगारीको लागि विदेश जाने कुरा चलिरहने प्रक्रिया भएको तर घट्दै जानुपर्नेमा दिनप्रतिदित गुणात्मक हिसाबले बढ्दै जानु ठूलो चिन्ताको विषय भएको उनले बताए । उनले अहिलेका मन्त्रीहरू प्रधानमन्त्रीको ‘दास’ बन्ने गरेको तथा केही काम नगरेकाले कसैको पनि नाम आफूलाई थाहा नभएको पनि बताएका छन् ।
यस्तै, अर्को प्रसङ्गमा उनले एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेखेको स्टाटस ‘ पहिले एनसेलमा बम पड्काउँथे, अहिले एनसेल नै पढ्काए !’ स्मरण गर्दै अहिलेका मन्त्री र प्रधानमन्त्रीहरू राज्यको ढुकुटी दोहन गर्नकै लागि मात्र बन्ने गरेको समेत बताए ।
FACEBOOK COMMENTS