काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यकाल हिजो शनिबार (७ पुस २०८०) देखि सकिएको छ । उनको कार्यकाल सकिएसँगै गंगालालको कार्यकारी निर्देशक को भन्ने भन्ने दौड पनि सुरू भइसकेको छ ।
कार्यकारी निर्देशक बन्नका लागि गंगालाल अस्पताल निर्माण र सञ्चालनको सुरूवातदेखि नै महत्वपूर्ण योगदान गर्दै आएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रवि मल्ल र डा. रामेश कोईरालाको नाम चर्चामा छ । चर्चामा रहेका यी दुईमध्ये पनि डा. रवि मल्ललाई निर्देशक बनाउनुपर्ने चौतर्फी आवाज उठिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
अस्पतालको कर्मचारी युनियनले डा. मल्ललाई कार्यकारी निर्देशक बनाउनुपर्नेमा जोड दिँदै आएको छ । निवर्तमान कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यकालमा अस्पतालभित्र राम्रो काम हुन नसकेको र त्यही नियति दोहोर्याउन कोही पनि तयार नभएको कर्मचारी युनियनका एक नेताले बताए । उनका अनुसार अहिलेको गंगालाल अस्पताल बनाउन अत्यन्तै धेरै र महत्वपूर्ण योगदान गरेका व्यक्ति वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रवि मल्ललाई बनाउँदा उपयुक्त हुन्छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार नै नयाँ निर्देशक नियुक्तिको फाइल उठाउन लगाइसकेका छन् । यद्यपि, फाइलमा निर्देशकको नाम भने नलेखिएको स्रोत बताउँछ । विश्वस्त स्रोतका अनुसार नयाँ निर्देशकमा मुटुरोग विशेषज्ञ डा. रवि मल्लको नाम नै अगाडि आउने निश्चितप्राय: छ । यसको पुष्टि आकांक्षीका रूपमा अगाडि आए डा. रामेश कोईरालाले नै शनिबार राति गरिसकेका छन् ।
निर्देशक नबन्ने स्पष्ट सङ्केत पाएका डा. कोईरालाले राजीनामा दिने योजना समेत बनाइसकेका छन् । शनिबार राति उनले ‘भाउजू’ भनेर चिनिने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाप्रति आक्रामक हुँदै आफूले राजीनामाको योजना बनाएको खुलासा गरेका हुन् ।
उनले शनिबार राति ट्विटर (एक्स) ह्याण्डलमा लेखेका छन्, ‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दैछु । मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै । सरी गंगालाल र धन्यवाद भाउजू ! जय नेपाल !’ उनको यो स्टाटसबाट डा. आरजु राणाले उनलाई कार्यकारी निर्देशक नबनाउने बताएको स्पष्ट हुन्छ । त्यसैले उनी डा. राणामाथि आक्रामक अभिव्यक्ति दिएका हुन् ।
उनको यो अभिव्यक्तिलाई गंगालालका अन्य डाक्टहरूले भने ‘रोइलो’को सज्ञा दिएका छन् । आफूले पद नपाउने भएपछि राजीनामाको मनस्थिति बनाउनु राम्रो पक्ष नभएको उनीहरूको भनाइ छ । ‘अस्पताललाई सिनियारिटीको आधारमा लैजान सकिए अस्पतालको व्यवस्थापन पनि राम्रो हुने र अस्पताल राजनीतिमुक्त हुने तर्क ती डाक्टरहरूको छ ।
देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्न्ने म मन नपरीकन पनि कसो कसो सरकारीबाट राजिनामातिर पुग्दैछु। मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै। सरी गंगालाल र धन्यवाद भाउजू! जय नेपाल!
— रामेश (@RaameshKoirala) December 22, 2023
गंगालालमा भएको बेथितिबारे हामीले यसअघि लेखेका समाचारहरू पनि पढ्नुहोस्–
गंगालाल अस्पतालको मनोमानी प्रकरण : सर्वोच्च अदालतले लगायो निर्देशक अधिकारीमाथि लगाम
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मनोमानी, विज्ञ चिकित्सकमा लागु ६३ बर्ष उमेरहदको उडाईयो धज्जी
FACEBOOK COMMENTS