काठमाडौं,फागुन ९- आज आराध्यय देव शिवको पूजाअर्चना गरी हिन्दू धर्मावलम्बीले शिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहेको छ।
आजको दिन ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग पनि परेको छ । भारतका ज्योतिषाचार्य पं, मनिष शर्माका अनुसार शिवरात्रिमा शनि आफ्नो घरराशि मकरमा र शुक्र आफ्नो उच्च राशि मीनमा रहेको छ । यो दुईवटै ठूला राशि शिवरात्रिमा यस्तो स्थितीमा रहनु दुर्लभ योग हो । यो भन्दा पहिले सन् १९०३ को फेब्रअरी २५ मा यस्तो योग बनेको थियो ।
शुक्रबार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार पहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
आज पशुपतिनाथ मन्दिरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीको घुईँचो लागेको छ । पशुपतिनाथको दर्शन गर्न आज बिहान तीन बजे नै पशुपतिका चार ढोका खोलिएको थियो । यस वर्ष शिवरात्रिका दिन १० लाखभन्दा धेरै दर्शनार्थीले लाइन लागेको २ घण्टामै दर्शन गरिसक्ने गरि व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अहिले पशुपतिमा दर्शनका लागि पाँचवटा लाइन लगाइएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीमा रहेको फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एकरएक लाईन गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
