काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को नयाँ सञ्चालकमा ६ जना निर्वाचित भएका छन् ।
भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित गरेको हो ।
नयाँ सञ्चालकहरुमा खेम बहादुर पाठक, डाक्टर बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित भएका हुन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने छ ।
ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थाहरु मार्फत थोक कर्जा प्रदायक संस्थाका रुपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. गत असार २४ गते मर्ज भएका थिए ।
७७ जिल्लामा सेवा पुगेको यस वित्तीय संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको छ । ५ सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको छ । दलित ११ प्रतिशत, जनजाती ३९ प्रतिशत र अन्यको ५० प्रतिशत रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ ।
FACEBOOK COMMENTS